
दक्षिण गाजाको खान युनुसस्थित एक सहायता वितरण केन्द्रमा खाद्यान्न लिन जम्मा भएका मानिसहरूको भिडमा किचिएर २० जनाको मृत्यु भएको छ। मृतकमध्ये १९ जनाको ज्यान भीडमा किचिएर गएको हो भने एक जनाको छुरा प्रहारबाट मृत्यु भएको जानकारी प्राप्त भएको छ।
घटना अमेरिका र इजरायलको समर्थनमा सञ्चालित गाजा ह्युमानिटेरियन फाउण्डेशन (जीएचएफ) को सहायता केन्द्र नजिकै भएको हो। जीएचएफले मे महिनाको अन्त्यदेखि सहायता वितरण सुरु गरेपछि गाजाका विभिन्न क्षेत्रमा राहत लिन आएका नागरिकहरूको भिड बढ्दो छ, जसका कारण लगातार ज्यान जाने घटनाहरू भइरहेका छन्।
खान युनुसको नासेर अस्पतालले १० वटा शव प्राप्त गरेको जनाएको छ भने बाँकी मृतकहरू अन्य अस्पताल र स्थानमा लगिएको अनुमान गरिएको छ। सहायता लिन आएका हजारौं मानिसको भीडबीच अमेरिकी निजी सुरक्षाकर्मीहरूले केन्द्र बन्द गरेपछि भागदौड सुरु भएको बताइएको छ।
प्रत्यक्षदर्शीहरूले इजरायली सुरक्षाकर्मीहरूले पनि भिड नियन्त्रण गर्न गोली प्रहार गर्ने गरेको आरोप लगाउँदै आएका छन्। जीएचएफका अनुसार, केन्द्र खोलिएयता दैनिकजसो सहायता लिन खोज्दा मानिसहरूले ज्यान गुमाइरहेका छन्।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले मंगलबार सार्वजनिक गरेको तथ्यांकअनुसार, पछिल्ला छ हप्तामा जीएचएफका दक्षिण र मध्य गाजास्थित चारवटा सहायता केन्द्र वरपर ६७४ जनाको मृत्यु भइसकेको छ। तीमध्ये धेरैजसो मृतक महिलाहरू, बालबालिका र वृद्धहरू रहेको रिपोर्टमा उल्लेख छ।
मानव अधिकारकर्मीहरूले यस्ता घटनाले गाजामा मानवीय संकट अझ गहिरिएको भन्दै तत्काल अन्तर्राष्ट्रिय हस्तक्षेपको माग गरेका छन्। सहायता वितरणमा पारदर्शिता, सुरक्षा, र मर्यादा सुनिश्चित गर्न दबाब बढ्दो छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.