बंगलादेशको राजधानी ढाकामा सोमबार भएको वायुसेनाको एक प्रशिक्षण विमान दुर्घटनामा परी कम्तीमा १९ जनाको मृत्यु भएको छ भने अन्य १६४ जना घाइते भएका छन्।
बंगलादेशी सञ्चारमाध्यम द डेली स्टार का अनुसार, विमान ढाकास्थित माइलस्टोन स्कूल एन्ड कलेजको भवनमा ठोक्किँदा ठूलो मानवीय क्षति भएको हो। दुर्घटनामा घाइते भएका व्यक्तिहरूलाई विभिन्न अस्पतालमा उपचारका लागि लगिएको छ।
प्राप्त जानकारीअनुसार, ७० जना घाइतेलाई नेशनल इन्स्टिच्युट अफ बर्न एन्ड प्लास्टिक सर्जरीमा पुर्याइएको थियो, जहाँ दुई जनाको मृत्यु भएको छ। घाइतेमध्ये १४ जनालाई कम्बाइन्ड मिलिटरी हस्पिटल (सीएमएच) लगिएको थियो, जहाँ ११ जनाको शव राखिएको छ।
त्यस्तै, अन्य दुई मृतकलाई कुर्मितोला सदर अस्पतालमा र थप दुई जनालाई लुब्ना जनरल हस्पिटल एन्ड कार्डियाक सेन्टरमा पुर्याइएको बताइएको छ।
दुर्घटनाको कारण अहिलेसम्म पत्ता लाग्न सकेको छैन। घटनाको अनुसन्धान भइरहेको बंगलादेशी अधिकारीहरूले बताएका छन्।
दुर्घटनापछि सुरक्षाकर्मी, उद्धारकर्मी तथा अग्निनियन्त्रक टोली घटनास्थलमा खटिएका थिए। स्थानीय बासिन्दा र विद्यार्थीहरू त्रसित भएका थिए भने क्षतिग्रस्त भवन क्षेत्रमा ठूलो भीड लागेको थियो।