
कैलालीको धनगढी कारागारमा शुक्रबार राति भएको कैदीबन्दीबीचको भीषण झडपपछि एक जनाको मृत्यु र ४७ जना घाइते भएका छन्। गृहमन्त्रालयले घटनालाई गम्भीरतापूर्वक लिएको बताउँदै तत्कालीन अवस्था नियन्त्रणमा लिन तथा कारागारको पूर्ण सुरक्षा सुनिश्चित गर्न पहल थालिएको जनाएको छ।
गृहमन्त्री रमेश लेखकले शनिबार बिहान गृहसचिवसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका उच्च अधिकारीसँग बैठक गरी घटनाको सम्पूर्ण विवरण लिए। छलफलमा सेती प्रादेशिक अस्पतालमा उपचाररत एक गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौँ ल्याउने निर्णय भएको छ। यसका लागि सुर्खेतस्थित नेपाली सेनाको स्काइ ट्रक धनगढी पठाइएको मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए।
प्रवक्ता काफ्लेले भने, “कारागारको पूर्ण सुरक्षा सुनिश्चित गर्न र थप अप्रिय घटना रोक्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा व्यवस्था कडा पार्नेछन्। बाँकी घाइतेकै उपचारका लागि पनि आवश्यक व्यवस्था मिलाइएको छ।”
शुक्रबार मध्यराति कैदीबन्दीका दुई समूहबीच भएको झडपपछि कारागार केही समयका लागि कैदीकै नियन्त्रणमा परेको थियो। शनिबार दिनभर सुरक्षाकर्मीहरूलाई भित्र प्रवेश गर्न कठिनाइ भएको भए पनि अहिले ठूलो संख्यामा सुरक्षा फौज परिचालन गरिएको र शान्ति सुरक्षाको वातावरण कायम गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।