
रम्परागत सांस्कृतिक पर्व गाईजात्राको अवसरमा आज राजधानीका विभिन्न टोलबाट सांस्कृतिक झाँकी निस्किएका छन्।
नेवार समुदायका घर–घरबाट साना बालबालिकालाई गाईको रूपमा सिँगारेर तथा वास्तविक गाई सजाएर नगर परिक्रमा गराइएको छ। असन, कमलाक्षी, क्षेत्रपाटी, लगन, ओमबहाल, टेकु, महाबौद्ध, नयाँबजार, बागबजार, डिल्लीबजार, कमलपोखरी, नक्साल, चावहिल, बौद्ध, जोरपाटी, साँखु, टोखा, गोकर्णलगायत स्थानहरूबाट निस्किएका झाँकी हेर्न सडकका दायाँ–बायाँ दर्शकको घुइँचो लागेको छ।
गाईजात्रा भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइन्छ। एक वर्षभित्र दिवंगत आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईको रूप दिई नगर परिक्रमा गराइन्छ। धार्मिक विश्वास अनुसार यसरी परिक्रमा गर्दा मृत आत्माहरू गाईको पुच्छर समातेर वैतरणी पार गर्छन्।
यो पर्वको सुरुवात राजा प्रताप मल्लले पुत्रवियोगमा परेकी रानीलाई संसारमा अरूले पनि शोक बेहोर्नुपर्छ भन्ने देखाउन गराएका थिए। त्यसयतादेखि हास्यव्यङ्ग्य, प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्ग्यात्मक प्रदर्शन, नाचगान, र करुण रसका गीतहरू गाउने परम्परा कायम छ।
यस वर्ष पनि हनुमानढोकास्थित राजदरबार हुँदै झाँकी पार गर्ने परम्परा निरन्तर छ। नेपाल प्रज्ञा प्रतिष्ठान र सांस्कृतिक संस्थानलगायत ठाउँमा हास्यव्यङ्ग्यात्मक कार्यक्रमको समेत आयोजना गरिएको छ।
वर्ल्ड इन्फो नेपाली एक व्यापक समाचार पोर्टल हो जसले नेपाली र अंग्रेजी दुवै भाषामा नवीनतम अपडेटहरू प्रदान गर्दछ। हामी वर्ल्ड इन्फो डट न्यूज ग्लोबलको एक हिस्सा हौं, नेपाल र विश्वभरबाट सही, समयसापेक्ष र सन्तुलित समाचारहरू प्रदान गर्न प्रतिबद्ध छौं।