नेपाल राष्ट्र बैंकले व्यक्तिगत मार्जिन कर्जाको सीमा बढाएर २५ करोड रुपैयाँ पुर्याएको छ। गभर्नर डा. विश्व पौडेलद्वारा सार्वजनिक गरिएको नयाँ मौद्रिक नीतिमार्फत यो निर्णय गरिएको हो। गभर्नर पौडेलको नेतृत्वमा आएको पहिलो मौद्रिक नीतिमा सेयर बजारमा लगानी गर्ने लगानीकर्ताका लागि महत्वपूर्ण राहत व्यवस्था गरिएको छ।
यसअघि व्यक्तिगत मार्जिन कर्जाको सीमा १५ करोड रुपैयाँ थियो। लगानीकर्ताहरूले पछिल्लो समय उक्त सीमा हटाउन वा वृद्धि गर्न निरन्तर माग गर्दै आएका थिए। राष्ट्र बैंकले उनीहरूको मागलाई सम्बोधन गर्दै यसपटकको नीतिमा कर्जा सीमा १० करोडले बढाएको हो।
नयाँ व्यवस्थाले सेयर लगानीमा थप सहजता ल्याउने अपेक्षा गरिएको छ। यो निर्णयसँगै अब एक व्यक्तिले २५ करोड रुपैयाँसम्म मार्जिन कर्जा लिन सक्नेछन्, जसले सेयर बजारमा तरलता वृद्धि गर्न सहयोग पुर्याउने विज्ञहरूको अनुमान छ।
मौद्रिक नीतिमा कर्जा प्रवाहलाई सन्तुलित बनाउने, तरलता व्यवस्थापन गर्ने र पूँजी बजारलाई सक्रिय बनाउने उद्देश्य राखिएको छ। राष्ट्र बैंकको यो कदमलाई निजी क्षेत्र र लगानीकर्ताले सकारात्मक रूपमा लिएका छन्।