
अबदेखि सेवाग्राहीले हरेक बैंक वा वित्तीय संस्थामा अलग–अलग ‘ग्राहक पहिचान विवरण’ (केवाइसी) बुझाउनु पर्ने झन्झटबाट मुक्ति पाउने भएका छन्। नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा केवाइसी प्रक्रिया सरल बनाउने व्यवस्था गरिएको हो।
राष्ट्र बैंकका अनुसार अब बैंक तथा वित्तीय संस्थाले ग्राहकको केवाइसी विवरण राष्ट्रिय परिचयपत्र प्रणालीमार्फत विद्युतीय रूपमा प्राप्त गर्न सक्नेछन्। यसले गर्दा ग्राहकले एक पटक मात्र विवरण अद्यावधिक गरेपछि सबै बैंक तथा वित्तीय सेवाप्रदायक संस्थाले सो विवरण साझा गर्न सक्नेछन्।
“बैंक तथा वित्तीय संस्था एवं अन्य वित्तीय सेवाप्रदायकको ग्राहक पहिचान (केवाइसी) विवरण राष्ट्रिय परिचयपत्रमार्फत प्राप्त गर्न सहजीकरण गरिने छ,” मौद्रिक नीतिमा स्पष्ट उल्लेख छ।
नयाँ प्रणालीअनुसार ग्राहकले एकपटक केवाइसी विवरण अद्यावधिक गरेपछि एउटा विशेष ‘पहिचान नम्बर’ प्रदान गरिनेछ। कुनै पनि बैंक वा वित्तीय संस्थाले त्यस नम्बरको आधारमा ग्राहकको केवाइसी विवरण प्राप्त गर्न सक्नेछन्।
हालसम्म सेवाग्राहीले फरक–फरक बैंकमा खाता खोल्दा हरेक पटक छुट्टाछुट्टै केवाइसी फाराम बुझाउनु पर्ने बाध्यता थियो। यो व्यवस्था सेवाग्राहीका लागि झन्झटिलो मात्र होइन, समय र स्रोतको दुर्व्यवहार पनि बनिरहेको थियो।
राष्ट्र बैंकले यस्ता समस्या समाधान गर्न डिजिटल पूर्वाधारको विकासमा प्राथमिकता दिँदै केवाइसी एकीकृत प्रणाली कार्यान्वयनतर्फ अग्रसरता देखाएको हो।
नयाँ नीति कार्यान्वयन भएपछि ‘तपाईंको केवाइसी अपडेट छैन, गरिहाल्नुस्’ भन्ने बैंकका कर्मचारीको भनाइ सुन्नुपर्ने बाध्यता हट्नेछ।
यो कदम डिजिटल नेपाल निर्माणतर्फको महत्वपूर्ण पहल मानिएको छ। यसबाट वित्तीय पहुँच थप सहज र भरपर्दो हुने अपेक्षा गरिएको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.