निरन्तरको वर्षाका कारण सप्तकोसी नदीमा पानीको बहाव खतराको सतहमाथि पुगेको छ। आइतबार साँझ कोसी ब्यारेजमा प्रति सेकेण्ड १ लाख ९१ हजार २१० क्यूसेक पानीको बहाव मापन गरिएको छ।
आज बिहान गरिएको मापनअनुसार पनि कोसी ब्यारेजर भएर १ लाख ७५ हजार ६८५ क्यूसेक पानी बगेको सशस्त्र प्रहरी उपरीक्षक निर्मल थापाले जानकारी दिए। पानीको सतह उच्च रहेपछि ५६ ढोकामध्ये २३ ढोका खोलिएको छ।
पानीको बहाव १ लाख ५० हजार क्यूसेकभन्दा माथि पुगेपछि कोसी ब्यारेजमा रातो बत्ती बालिने प्रावधान अनुसार अहिले रातो बत्ती बालिएको कन्ट्रोल रुमले जनाएको छ। यो संकेतले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन सूचित गर्छ।
सप्तकोसी नदीमा अत्यधिक पानीको बहावका कारण कोसी क्षेत्रका बासिन्दा त्रसित छन्। विगतमा पनि यस्तो अवस्था भयावह साबित भएको छ। २०६५ सालको भदौ २ गते एक लाख ६८ हजार क्यूसेक बहाव हुँदा सप्तकोसीले पूर्वी तटबन्ध भत्काएको थियो, जसले ठूलो जनधनको क्षति गराएको थियो।
हाल मौसम अझै असहज रहेकाले सुरक्षाकर्मीहरूलाई उच्च सतर्कतामा राखिएको छ। प्रशासनले कोसी आसपासका नागरिकलाई सावधानी अपनाउन, नदी किनारामा जान नदिन तथा विपद् पूर्वतयारी राख्न आग्रह गरेको छ।