
छेउको पाँचतले घरको छतबाट धुवाइराखेको छ। बेलाबेला आगाको लप्का पनि देखिन्छ। भित्री सडकमा दमकल पनि आइपुगेको छ।
मानिसहरू खासखुस गरिरहेका छन्– यस्तो पनि आगालागी हुन्छ? यहाँ के आगो ताप्नका लागि बालेको थियो, दमकलै बोलाइ भ्याइसकेछ! अब हेर्नुस् त, पेट्रोल खर्च भएन त! यो दमकलको? यसको पैसा कसले तिर्छ!
यस्तै कुराहरू सुनिने भिडिओ अहिले सामाजिक सञ्जाल फेसबुक लगायतमा भाइरल छ।
सामाजिक सञ्जालमा कतिपयले आगो ताप्न छतमा आगो बाल्दा छिमेकीले आत्तिएर दमकल बोलाइदिएको टिप्पणी गरेका छन्। कतिपयले सेकुवा पोल्दापोल्दै दमकल बोलाएको बताएका छन्।
घटनाको वास्तविकता बुझ्न हामीले ललितपुरका नगरप्रहरी प्रमुख सीताराम हाछेथुलाई सोध्यौं।
उनले घटना शुक्रबार बेलुकीको भएको बताए। त्यस्तै साँढे सात–आठ बजेतिर ललितपुरको इमाडोल क्षेत्रमा आगो लागेको भन्दै खबर आएको उनको भनाइ छ। उक्त ठाउँ महालक्ष्मी नगरपालिका र ललितपुर महानगरपालिकाको सिमाना हो।
आगोलागी भएको भनिएको ठाउँमा पुग्दा छतमा कसैले आगो बालेको देखेको उनले बताए। त्यसपछि दमकल फर्किएर आएको र आगो निभाउन पानीको प्रयोग नभएको उनले बताए।
‘त्यहाँ आगो ताप्न बालेका हौं भनेको त सुनियो। तर काठमाडौं उपत्यकामा आगो बाल्नुपर्ने गरी जाडो कहाँ छ र! जाडोमा भए एउटा कुरा,’ उनले भने, ‘मेरो विचारमा कसैले सेकुवा पोल्न आगो बाल्यो होला। छिमेकीले आगो लागेको ठानेर हतारहतार दमकल बोलाए!’
उनले सेकुवा पोल्दापोल्दै आगो उम्किएर आगोलागि हुनसक्नेतर्फ सचेत रहनु ललितपुर महानगरपालिकाको कर्तव्य भएको बताए।
‘छतमा आगो लाग्नु नपर्ने हो भन्ने त हामीले सोचेको हो। तर कसरी लाग्यो भनेर प्रश्न गरेर बस्ने कुरा त आएन नि! त्यसैले हामी मुभ भइहाल्यौं। त्यहाँ पुगेपछि सेकुवा पोलेर रमाइलो गरेको हो, आगो लागेको होइन भनेपछि हामी फर्किएका हौं,’ उनले भने।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.