
लगातारको वर्षाका कारण त्रिशूली नदीमा बाढीको खतरा बढेसँगै जिल्ला प्रशासन कार्यालय (जिप्रका) धादिङले नदी किनार क्षेत्रमा सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
प्रशासनले एक सूचना जारी गर्दै त्रिशूली नदीको तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरूलाई सम्भावित बाढीको जोखिमप्रति सचेत रहन र अनावश्यक रुपमा नदीको नजिक नजान अनुरोध गरेको छ।
सूचना अनुसार त्रिशूली नदीको उपल्लो क्षेत्र — नुवाकोट र रसुवा — मा अत्यधिक वर्षा भइरहेको हुँदा नदीमा पानीको बहाव एक्कासि बढ्न सक्ने अवस्था रहेको छ। यसले सडक, पुल र अन्य भौतिक संरचनामा क्षति पुर्याउने सम्भावना पनि बढेको प्रशासनको भनाइ छ।
प्रशासनले नदी किनारमा रहेका बासिन्दाहरूलाई आवश्यकता नपरेसम्म नदीको छेउमा नजान, बालबालिका तथा पशु चौपाया सुरक्षित स्थानमा राख्न र जोखिम क्षेत्रमा रहेका नागरिकहरूलाई तत्काल सुरक्षित स्थानमा सार्न आग्रह गरेको छ।
प्रशासनले सबैलाई सतर्क रहनुका साथै सूचना प्रवाहमा सहयोग गर्न र आपतकालीन अवस्थाको खण्डमा सम्बन्धित निकायसँग सम्पर्क गर्न अनुरोध गरेको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.