
हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेकाले आज दिउँसोदेखि रातिसम्म देशका धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ।
बुधबार दिउँसो बागमती, गण्डकी, लुम्बिनी लगायतका प्रदेशका पहाडी क्षेत्रका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको छ। साथै, उच्चपहाडी तथा हिमाली भागहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि छ।
आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका केही स्थान र अन्य प्रदेशका कतिपय ठाउँहरूमा मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने जनाइएको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।
महाशाखाले सम्भावित भारी वर्षाका कारण बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम बढ्न सक्ने चेतावनी दिएको छ। साथै, सहरी क्षेत्र र तराईका समथर भूभागमा डुबानको जोखिम समेत रहन सक्ने भन्दै सर्वसाधारणलाई सतर्क रहन अनुरोध गरिएको छ।
ठूला तथा साना नदी–नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने, साथै दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, सडक तथा हवाई यातायातमा समेत असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन र पूर्वतयारी गर्न महाशाखाले आम नागरिक र सरोकारवाला निकायहरूलाई आग्रह गरेको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.