
प्युठानको सरुमारानी गाउँपालिका–३ गोठेरीमा एक महिलाको आफ्नै पूर्व श्रीमानद्वारा चक्कु प्रहार गरी हत्या गरिएको घटना सार्वजनिक भएको छ।
हतियार प्रहारबाट २८ वर्षीया रुक्मणी बरालको ज्यान गएको हो। हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुर बराललाई प्रहरीले घटनास्थलबाटै नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय प्युठानका प्रमुख डिएसपी दीपेश बस्यालका अनुसार, मङ्गलबार बिहान १०:१० बजे लिलबहादुरले रुक्मणीलाई फोन गरेर आफन्तको घरमै बोलाई चक्कु प्रहार गरेका थिए।
घटनाका बेला रुक्मणी आफ्नी जेठानी डिला परियारको घरमा बस्न गएकी थिइन्। डिलाका अनुसार लिलबहादुरले बोलाएर घरभित्र छिरेपछि छुरा प्रहार गरेका थिए। “मैले हारगुहार गरेँ, रोक्न खोजेँ तर उनले केही मानेनन्,” डिलाले बताइन्, “आँखा अगाडि नै छुरा प्रहार गरेर मारे।”
इजरायलमा रोजगाररत लिलबहादुर असार २४ गते नेपाल फर्किएका थिए। रुक्मणीले गत वैशाखमा दीपक परियारसँग पुनः विवाह गरेकी थिइन्। दीपक हाल कामको सिलसिलामा सङ्खुवासभा गएका छन्।
रुक्मणी र लिलबहादुरको एक छोरा र एक छोरी छन्। आमाको हत्या र बुबाको गिरफ्तारीसँगै नाबालक सन्तान विचल्लीमा परेका छन्।
घटनाको जानकारी पाउनेबित्तिकै बड्डाडा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक कुलबहादुर खत्रीको टोली खटिएको थियो। प्रारम्भिक अनुसन्धान अनुसार, घटना पूर्व वैवाहिक विवादको कारणले भएको हुन सक्ने प्रहरीले जनाएको छ।
डिएसपी बस्यालले भने, “घटनास्थल सुरक्षित गरिएको छ, अभियुक्त प्रहरी नियन्त्रणमा छन्। विस्तृत अनुसन्धान अघि बढाइएको छ।”
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.