२०८२ श्रावण २० | [email protected] | Nepali Unicode|Preeti to Unicode

दक्षिण अफ्रिकाका पूर्व स्टार क्रिकेटर एबी डिभिलियर्सले नेपाली क्रिकेट टोलीको खुलेर प्रशंसा गरेका छन्। भारतीय युट्यूबर शुभांकर मिश्रको पोडकास्टमा कुराकानी गर्दै डिभिलियर्सले नेपालको क्रिकेट यात्रा ‘अद्भुत’ रहेको भन्दै नेपाली टिमलाई ‘खतरनाक’ करार दिए।

पोडकास्टका क्रममा मिश्रले टी-२० विश्वकपमा नेपाल र दक्षिण अफ्रिकाबीचको खेलको प्रसंग उठाउँदै ठट्टाको रूपमा “नेपालले त झण्डैले हराएको थियो है?” भनी प्रश्न गर्दा डिभिलियर्स हाँस्दै बोले, “नेभर!” तर तुरुन्तै थपे, “म जोक गर्दै थिएँ। उनीहरू गज्जबको टिम हुन्, जो लामो यात्रा पार गरेर यहाँसम्म आएका छन्। उनीहरू खतरनाक टिम हुन्।”

डिभिलियर्सले नेपाली टिमलाई अझ स्थायित्व (कन्सिस्टेन्सी) आवश्यक रहेको भन्दै धेरै क्रिकेट खेल्ने अवसरहरू प्रदान गर्नुपर्ने बताए। “उनीहरूले धेरै मौकाहरू पाउनुपर्छ। नेपाल र नेपालजस्ता देशका खेलाडीहरूलाई बढी अवसर दिन आयोजकहरूले गम्भीर सोच राख्नुपर्छ,” उनको भनाइ थियो।

पोडकास्टमा मिश्रले डिभिलियर्सलाई नेपाल क्रिकेट लिग (एनपीएल) खेल्नेबारे चर्चा चलिरहेको उल्लेख गर्दा उनले प्रस्ताव आएको पुष्टि गरे। तर, व्यस्तताका कारण समय नमिलेर आउन नसकेको बताए।

“मलाई इन्भाइट गरिएको थियो। तर, म अलिक व्यस्त थिएँ। मेरो तालिकासँग मिलेन। म अहिले युकेमा परिवारसहित छु र छोटा प्रतियोगितामा मात्र सीमित छु। तर भविष्यमा नेपाल आउन सक्ने सम्भावना छ। नेभर से नेभर!” डिभिलियर्सले उत्साहपूर्वक भने।

नेपाल क्रिकेटप्रति डिभिलियर्सको यस्तो सकारात्मक धारणा र भविष्यमा एनपीएल खेल्ने संकेतले नेपाली क्रिकेट समर्थकहरूलाई थप ऊर्जा र प्रेरणा मिल्ने निश्चित देखिन्छ। यदि उनी नेपाल आउँछन् भने, यो नेपाली क्रिकेट इतिहासका लागि ऐतिहासिक क्षण हुनेछ।

Website |  + posts

World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय