बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ आज मुख्यमन्त्रीमा नियुक्त हुने पक्का भएको छ। दिउँसो ३ बजे नियुक्ति र ४ बजे शपथको कार्यतालिका तय भएसँगै कांग्रेसले मन्त्री चयनमा समयमै सहमति जुटाउन सकेको छैन।
कांग्रेसभित्र मन्त्रालय बाँडफाँट र मन्त्री छनोटमा देखिएको गम्भीर मतभेदका कारण प्रारम्भिक शपथमा बानियाँसहित केवल दुईजनाको मात्र शपथ हुने सम्भावना देखिएको छ। बानियाँसँगै धादिङका शिवराज अधिकारीको नाम शपथका लागि तय भएको छ। अधिकारीलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय दिने तयारी गरिएको छ, जुन प्रदेश सरकारको प्रवक्ता मन्त्रालय पनि हो।
निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामाले अल्पमतमा परेपछि मन्त्रिपरिषद्मा गरेका तीन नियुक्ति शपथ रोकिएको थियो। तर नयाँ सरकार बनेपछि तीमध्ये कोही एकलाई समावेश गर्ने कि नगर्ने भन्ने विषयमा कांग्रेसभित्र अझै सहमति बनेको छैन। कांग्रेसभित्र ७ मन्त्रालयको दाबीलाई लिएर विभिन्न नेताहरूबीच रस्साकस्सी चलिरहेको छ।
मुख्यमन्त्री बानियाँले विस्तारित मन्त्रिपरिषद् बनाउनका लागि थप छलफल आवश्यक भएको भन्दै आजको शपथलाई सीमित राख्ने सम्भावना बढेको हो।
उता प्रमुख विपक्षी दल एमालेले पनि आजै संसदीय दलको बैठक डाकेर आफूपक्षको ६ वटा मन्त्रालयका लागि मन्त्रीहरूको टुंगो लगाउने तयारी गरिरहेको छ।
नयाँ गठबन्धनको सत्ता समीकरण अनुसार, बागमतीमा कांग्रेस र एमाले मिलेर सरकार बनाउँदैछन् भने मन्त्री चयनको टुंगो लाग्नासाथ सरकार पूर्णरूपमा सञ्चालनमा आउने अपेक्षा गरिएको छ।