
बागमती प्रदेशमा कांग्रेस–एमाले गठबन्धनबाट गठन भएको नयाँ सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसहित आठ मन्त्रीले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।
मुख्यमन्त्री बानियाँलाई प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले पद तथा गोपनीयताको शपथ गराएका हुन्। शपथ कार्यक्रममा बानियाँसँगै कांग्रेस र एमालेका मन्त्रीहरुले पनि सपथ लिएका छन्।
कांग्रेसतर्फका मन्त्री
नेपाली कांग्रेसका शिवराज अधिकारी र कृष्णकुमार तामाङले मन्त्री पदको शपथ लिएका छन्। तामाङलाई खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्रालयको जिम्मेवारी दिइएको छ भने अधिकारीको जिम्मेवारी तोकिएको छैन।
एमालेतर्फका मन्त्रीहरू
नेकपा एमालेको कोटाबाट छ जनाले मन्त्री पदको शपथ लिएका छन्। तिनमध्ये पाँचजना नयाँ अनुहार छन् भने एकजना पुरानै मन्त्री दोहोरिएका छन्।
-
किरण थापा – स्वास्थ्य मन्त्रालय (दोहोरो कार्यकाल)
-
मधुशोधन पौडेल – कृषि मन्त्रालय
-
भरत केशी – वन मन्त्रालय
-
जयराम थापा – श्रम, रोजगार तथा यातायात मन्त्रालय
-
बिन्दु श्रेष्ठ – उद्योग मन्त्रालय
-
डा. दिनेशचन्द्र देवकोटा – भौतिक पूर्वाधार मन्त्रालय
गठबन्धनको बहुमत
बानियाँ नेपाली कांग्रेस बागमती प्रदेश समितिका सभापति हुन्। उनले सोमबार कांग्रेस–एमाले संयुक्त समर्थनमा सरकार गठनको दाबी प्रस्तुत गरेका थिए।
११० सदस्यीय प्रदेश सभामा कांग्रेस र एमालेको संयुक्त समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन्। दुवै पार्टीका गरी ६४ जना सांसदको समर्थन रहेको छ।
यससँगै बागमती प्रदेशमा नयाँ सरकारको नेतृत्व इन्द्रबहादुर बानियाँले सम्हालेका छन्। आगामी दिनमा मन्त्रालयको बाँडफाँड र नीतिगत प्राथमिकताले प्रदेश सरकारको गति निर्धारण गर्ने अपेक्षा गरिएको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.