राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा. तोसिमा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारप्रति कडा आलोचना गर्दै सरकारको नैतिक तथा राजनीतिक औचित्य समाप्त भइसकेको दाबी गरेकी छन्।
संघीय संसदको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद कार्कीले संविधान संशोधनको बाचा गरेर सत्ता गठबन्धनमा रहेका दलहरू सरकारी सम्पत्ति र जनताको भावना बेच्न उद्यत भएको आरोप लगाइन्।
“बाचा सुशासनको, अनि जनताको लागि लड्नेहरूलाई जेल, भ्रष्टाचारमा मुछिएकाहरूलाई स्याबासी,” भन्दै सांसद कार्कीले सरकारले गलत प्राथमिकता लिएको टिप्पणी गरिन्।
भिजिट भिसा प्रकरण र छानबिन समितिको विवाद
सांसद कार्कीले भिजिट भिसा प्रकरणमा सत्ता पक्षले निष्पक्ष छानबिन गर्न नचाहेको आरोप लगाउँदै उक्त प्रकरण छानबिनका लागि बनेको समितिलाई ‘बादलको पुच्छर’ को संज्ञा दिइन्। उनले भनेकी छन्, “जसमा छानबिन हुनुपर्ने हो, उसकै संयोजकत्वमा समिति बनेको छ। त्यसैले हामीले पहिलो दिनदेखि नै बहिष्कार गरेका छौँ।”
उनले रास्वपाले उठाएको मागअनुसार नयाँ छानबिन समिति नबनिएसम्म आन्दोलन नरोकिने स्पष्ट पारिन्।
सदनप्रति प्रश्न
कार्कीले संसद जनताको आवाज हो कि सरकारको कठपुतली? भन्ने प्रश्न गर्दै सत्तापक्षले दुई प्रमुख प्रतिपक्ष दलको निरन्तर विरोधलाई बेवास्ता गर्दै सदन सञ्चालन गरिरहेको आरोप लगाइन्। “जनताले हेरेका छन्, सुनेका छन्, उनीहरूले एक–एक हिसाब राखिरहेका छन्,” उनले भनिन्।
सांसद कार्कीको यो अभिव्यक्तिले संसदमा सरकारको आलोचना झन चर्किएको छ। विपक्षी दलहरू सरकारलाई दबाब दिने रणनीतिमा उत्रिएसँगै संसदमा बहस तीव्र हुँदै गएको छ।