भारतको नयाँ दिल्लीस्थित अन्तरराष्ट्रिय विमानस्थलबाट भिजिट भिसामा कुवेत जान लागेका ४७ जना नेपाली महिलालाई नेपाली दूतावास र भारतीय सुरक्षाअधिकारीको समन्वयमा नियन्त्रणमा लिएर नेपाल फिर्ता गरिएको छ।
उनीहरू बिना अनुमति (एनओसी) कुवेत जान लागेका बेला दिल्लीस्थित नेपाली दूतावासले हस्तक्षेप गरी बिहीबार राति स्थलमार्ग हुँदै सुनौली नाका भएर रूपन्देही पुर्याएको हो। दूतावासमा कार्यरत प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) प्रकाश मल्लको टोलीले महिलाहरूलाई सुरक्षासहित रूपन्देही ल्याएर जिल्ला प्रशासनको जिम्मा लगाएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) वासुदेव घिमिरेले जानकारी दिनुभयो।
प्रजिअ घिमिरेका अनुसार महिलाहरूलाई हाल प्रहरीले काठमाडौँ ल्याउँदैछ, जहाँ उनीहरूमाथि थप अनुसन्धान हुने बताइएको छ।
यस घटनापछि गृहमन्त्री रमेश लेखकले गम्भीर ध्यान दिँदै मानव बेचबिखन ब्यूरोलाई तत्काल आवश्यक अनुसन्धान गर्न निर्देशन दिनुभएको छ। गृहमन्त्रालयद्वारा जारी सूचनामा भनिएको छ, “वैदेशिक रोजगारीमा अवैध रूपमा जान खोज्ने कार्य आपराधिक प्रकृतिको भएकोले यसमा संलग्न दलाल र व्यक्तिहरूलाई कारबाहीको दायरामा ल्याइनेछ।”
गृहमन्त्री लेखकले यस्ता घटनाको जडसम्म पुगेर अनुसन्धान गर्न प्रहरीलाई निर्देशन दिएका छन्। पछिल्लो समय भिजिट भिसाको नाममा खाडी मुलुकमा महिलाहरूलाई अवैध रूपमा लैजाने क्रम बढिरहेका बेला भएको यो कारबाहीले मानव तस्करहरूविरुद्ध कडाइका लागि सरकार गम्भीर देखिएको संकेत मिलेको छ।