प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन सोमबार तुर्कमेनिस्तानको अवाजा शहरतर्फ प्रस्थान गरेका छन्।
तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री ओली सम्मेलनमा सहभागी हुन गएका हुन्। सम्मेलन साउन २० देखि २३ गतेसम्म अवाजा शहरमा हुनेछ।
प्रधानमन्त्री ओलीले कम विकसित राष्ट्रहरूको विश्वव्यापी समन्वय ब्युरोको अध्यक्षका रूपमा सम्मेलनलाई सम्बोधन गर्नेछन्। साथै, उनी सम्मेलन अन्तर्गत आयोजना हुने उच्चस्तरीय गोलमेच बैठकको सह-अध्यक्षता गर्ने र अन्य विविध कार्यक्रमहरूमा समेत सहभागी हुने कार्यक्रम रहेको छ।
नेपाल अहिले भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको समूहको अध्यक्ष राष्ट्र हो। सम्मेलनमा एशिया, युरोप, अफ्रिका र दक्षिण अमेरिकाका ३२ देशहरू सहभागी हुनेछन्। सहभागी मुलुकहरूले समुद्रमा प्रत्यक्ष पहुँच नहुँदा भोग्नु परेका समस्या, व्यापारिक सीमितता, यातायात पूर्वाधारको अभाव, तथा विश्व बजारमा पहुँच विस्तारका उपायहरूबारे छलफल गर्नेछन्।
प्रधानमन्त्री ओलीको भ्रमण टोलीमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रतिनिधिसभाका सदस्य सूर्यबहादुर थापालगायत सहभागी छन्। भ्रमण सकेर प्रधानमन्त्री ओली साउन २३ गते शुक्रबार राति स्वदेश फर्कने कार्यक्रम छ।
यसबीच, प्रधानमन्त्रीको अनुपस्थितिमा राष्ट्रपति रामचन्द्र पौडेलले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई प्रधानमन्त्रीको दैनिक प्रशासनिक कार्य गर्ने जिम्मेवारी दिएका छन्।