
नागढुंगा–मुग्लिन सडक आयोजनाअन्तर्गत पश्चिम खण्डको मुग्लिन–मलेखु सडकखण्डको ३३ प्रतिशत काम सम्पन्न भएको छ। कुल ३८.८६ किलोमिटर लम्बाइको यस सडक खण्डमा हालसम्म आठ किलोमिटर चार लेन सडकको कालोपत्रको काम सकिएको छ।
आयोजनाका पश्चिम खण्ड प्रमुख केदारप्रसाद नेपालका अनुसार कुरिनटार क्षेत्रमा मात्रै पाँच किलोमिटर सडक एकैचोटि कालोपत्र गरिएको हो भने अन्य स्थानमा छरिएको रूपमा कालोपत्र गरिएको छ। थप आठ किलोमिटरमा कालोपत्र गर्ने तयारी भइरहेको उनले बताए।
सडकको २५ किलोमिटर क्षेत्रमा पक्की नाली निर्माण सम्पन्न भइसकेको छ भने ती क्षेत्रमा सडक पनि चौडा पारिएको छ। बाँकी आठ किलोमिटर क्षेत्रमा भने अझै चौडाइको काम बाँकी रहेको छ।
सडकखण्डमा पर्ने छवटा पुलमध्ये गोमती खोलाको पुलको काम सम्पन्न भइसकेको छ। तीनवटा पुलमा साउन महिनाभित्र ढलानको काम सक्ने योजना छ भने बाँकी दुई पुलमा वर्षा सकिएपछि निर्माण कार्य अघि बढाइनेछ। ती पुलमा हाल पिल्लर उठाउने काम भइरहेको छ।
आयोजनाका अनुसार मुआब्जा वितरणको काम पनि तीव्र रूपमा अघि बढिरहेको छ। हालसम्म आवश्यक मुआब्जामध्ये ७० प्रतिशत वितरण भइसकेको छ। त्यस्तै, विद्युतका ४०० खम्बामध्ये ३०३ वटा सारिएको छ। वर्षायाममा पुल ढलान र निर्माण सामग्री प्रशोधनबाहेक अन्य काम अघि बढ्न नसक्ने बताइएको छ। अन्य काम भदौदेखि तीव्र रूपमा अघि बढाइने आयोजना प्रमुख नेपालले जानकारी दिए।
मुग्लिन–मलेखु खण्डमा दुई दशमलव दुई किलोमिटर छ लेन सडक, सात दशमलव दुई किलोमिटर चार लेन सडक, दुई दशमलव तीन किलोमिटर क्लाइम्बिङ लेन तथा बाँकी सडक दुई लेनको रहनेछ। छ लेन सडक मलेखु, बेनीघाट र मुग्लिन क्षेत्रमा पर्नेछ भने चार लेन सडक रमाइलो डाँडा, कुरिनटार, फिस्लिङ, चुम्लिङ, मझीमटार, चरौँदी र विशालटार क्षेत्रमा हुनेछ।
२०७९ पुस १५ मा तीन वर्षभित्र सम्पन्न गर्ने गरी ठेक्का दिइएको यो सडकखण्ड पृथ्वी राजमार्गअन्तर्गतको तेस्रो प्याकेजमा पर्छ। चार अर्ब ८० करोड ५९ लाख रुपैयाँको लागतमा शर्मा-जेडआइसिजी कम्पनीले निर्माणको जिम्मा लिएको हो।
सडकको स्तरोन्नतिको काम विश्व बैंकको सहयोगमा भइरहेको हो। सडक सुरक्षाका संरचना, पहिरो रोकथाम, नाला निर्माण, पर्खाल लगाउने, भित्तो काट्ने जस्ता कामहरू पनि योजना अनुसार अघि बढाइएको छ।
काठमाडौं प्रवेश गर्ने तथा बाहिरिने मुख्य नाकाका रूपमा रहेको यस सडकमा सवारी चाप अत्यधिक भएकाले निर्माण कार्यमा विभिन्न कठिनाइहरू देखिएको छ। साथै, कच्चा सामग्री पाउन गाह्रो हुनु र प्रारम्भिक वर्षहरूमा डिजाइन परिवर्तन हुनु पनि ढिलाइको मुख्य कारण रहेको आयोजनाले जनाएको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.