नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै पेट्रोल सस्तो र डिजल–मट्टितेल महँगो बनाएको छ।
निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको छ भने डिजल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाइएको छ।
त्यस्तै, आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर ३ रुपैयाँले र अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य अमेरिकी डलर २१ ले वृद्धि गरिएको छ।
नयाँ मूल्यअनुसार अब पेट्रोल प्रतिलिटर १५९ रुपैयाँ, डिजल र मट्टितेल १५० रुपैयाँ र हवाई इन्धन (आन्तरिक) १२८ रुपैयाँ पुगेको छ।
खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको निगमले जनाएको छ।
नयाँ मूल्यसूची साउन १६ गते राति १२ बजेदेखि लागू भएको हो।
निगमले अन्तर्राष्ट्रिय बजार मूल्य, ढुवानी खर्च र नाफाको आधारमा मूल्य समायोजन गरिएको जनाएको छ।