
मौसम पूर्वानुमान महाशाखाले आज शुक्रबार (साउन १६) देशभर साधारणतया बदली रहने र धेरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ।
महाशाखाले बिहान ६ बजे सार्वजनिक गरेको २४ घण्टे मौसम बुलेटिनअनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका धेरै स्थान तथा तराईका थोरै स्थानहरूमा मेघगर्जनसहित मध्यम वर्षा हुनसक्नेछ।
त्यस्तै रातिको समयमा पनि देशभर आकाश बदली रहनेछ। कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका धेरै स्थान र बाँकी तराई क्षेत्रका केही ठाउँमा मेघगर्जनसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
बागमती प्रदेशको पहाडी क्षेत्रमा भने एक-दुई स्थानमा भारी वर्षा हुने सम्भावना समेत रहेको महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार दिउँसोको अवधि बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म र रातिको अवधि साँझ ६ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्मलाई जनाइएको हो।
वर्षाको मापनका आधारमा १० मिलिमिटरभन्दा कमलाई हल्का, १० देखि ५० मिलिमिटरसम्मलाई मध्यम, ५० देखि १०० मिलिमिटरसम्मलाई भारी, १०० देखि २०० मिलिमिटरसम्मलाई धेरै भारी र २०० मिलिमिटरभन्दा माथिलाई अति भारी वर्षा मानिन्छ।
यस्तै, ‘एक–दुई स्थानमा वर्षा’ भन्नाले सम्बन्धित प्रदेशका जम्मा १० प्रतिशतभन्दा कम भू–भागमा वर्षाको सम्भावना जनाइएको हो। यस्तै १०–३० प्रतिशतमा वर्षाको सम्भावना भए ‘थोरै स्थान’, ३०–५० प्रतिशतमा ‘केही स्थान’, ५०–८० प्रतिशतमा ‘धेरै स्थान’ र ८० प्रतिशतभन्दा बढी क्षेत्र ओगट्ने सम्भावना देखिएमा ‘अधिकांश स्थान’मा वर्षा हुने भनिन्छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.