नेपाली राष्ट्रिय महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डे वाइल्डले पदबाट राजीनामा दिएका छन्। उनले केही दिनअघि अखिल नेपाल फुटबल संघ (एन्फा) समक्ष औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
प्रो लाइसेन्स प्राप्त प्रशिक्षक प्याट्रिक गत जेठ २२ गते नेपाली महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए। एक वर्षका लागि नियुक्त भए पनि उनले एक महिनामै पद त्याग गरेका छन्।
उनको राजीनामा एसियन कप छनोट खेलका क्रममा उज्बेकिस्तानमा एन्फासँग भएको विवादपछि आएको हो। विवाद भएपछि प्रशिक्षक प्याट्रिक नेपाल फर्किएका थिएनन्।
नेपाल नफर्किएपछि उनले एक अन्तरवार्तामार्फत एन्फा, सहायक प्रशिक्षक तथा टोली व्यवस्थापनलाई विभिन्न आरोप लगाएका थिए। त्यसपछि टोलीका हेड अफ डेलिगेट्स सरिला श्रेष्ठ, व्यवस्थापक विन्द्रा देवान र सहायक प्रशिक्षक राजेन्द्र तामाङले संयुक्त पत्रकार सम्मेलन गर्दै प्याट्रिकका आरोपहरू असत्य भएको दाबी गरेका थिए।
प्याट्रिकको राजीनामाले एन्फा र महिला फुटबल टोलीबीचको आन्तरिक समन्वयमा गम्भीर प्रश्न उठाएको छ। आगामी खेल र तयारीमा यसले असर पार्न सक्ने अनुमान गरिएको छ।
एन्फाले हालसम्म औपचारिक प्रतिक्रिया भने दिएको छैन। प्रशिक्षक चयन प्रक्रिया फेरि सुरु हुने अपेक्षा गरिएको छ।