हास्यव्यङ्ग्यको पर्व गाईजात्रालाई लक्षित गर्दै कलाकार शिवशङ्कर रिजाल ‘जोगिन्दर’ले यस वर्षको गाईजात्रे कोसेली ‘मिसन नौटङ्की’ सार्वजनिक गरेका छन्।
दर्शकश्रोतालाई मनोरञ्जन दिँदै सामाजिक तथा राजनीतिक विकृतिमाथि व्यङ्ग्यात्मक प्रहार गर्ने उद्देश्यले तयार गरिएको ‘मिसन नौटङ्की’ गाईजात्रा अवसरमा सार्वजनिक गरिएको हो। कलाकार रिजालका अनुसार यस किसिमका कोसेली व्यावसायिक भन्दा पनि कलाकारको सामाजिक धर्मअनुरूपको अभिव्यक्ति हुन्।
“गाईजात्रालाई लक्षित गर्दै सुरुदेखि नै व्यङ्ग्यात्मक कोसेली ल्याउँदै आएको छु,” रिजालले बताए, “दर्शकहरू वर्षैपिच्छे कोसेलीको प्रतीक्षा गर्नुहुन्छ भन्ने लागेको छ, त्यसैले निरन्तरता दिँदै आएको छु।”
वि.सं. २०६१ देखि गाईजात्रा अवसरमा नियमित रूपमा व्यङ्ग्य प्रस्तुति ल्याउँदै आएका रिजालले ‘मिसन नौटङ्की’ मा हालको राजनीतिक घटनाक्रम, सामाजिक विकृति, फेसन र ग्ल्यामरस क्षेत्रलाई समेत व्यङ्ग्य गरेका छन्।
“अहिले नेताहरू ‘मिसन ८४’ भन्दै नयाँ सपना बाँडिरहेका छन्, तर काममा होइन प्रचारमा मात्रै केन्द्रित छन्,” रिजालले भने, “त्यसैलाई लक्षित गर्दै तयार गरिएको हास्य प्रस्तुति हो ‘मिसन नौटङ्की’। उद्देश्य कसैलाई व्यक्तिगत रूपमा आक्षेप लगाउनु होइन, जनतालाई बाँडिएको झुटा आश्वासनलाई व्यङ्ग्य गर्नु हो।”
यस गाईजात्रे कोसेलीमा चर्चित फिल्म ‘जात्रै जात्रा’को गीत ‘लाइदेउ माया पिरिम’ को ‘प्यारोडी’ समेत प्रस्तुत गरिएको छ।
‘मिसन नौटङ्की’ को लेखन र निर्देशन कलाकार रिजालले आफैं गरेका हुन्। कार्यक्रममा राधिका हमाल, प्रेम शर्मा पौडेल, सवित्रा लामिछाने ‘सबु’, धीरेन्द्र सिंह, किरण खनाल, वेदमणि अधिकारी, बलराम धमला ‘ठुले दाइ’, सबिना विक, भीम परियार र बालकलाकार पोस्ना श्रेष्ठले अभिनय गरेका छन्।
गाईजात्राको सन्दर्भमा प्रत्येक वर्ष हास्यव्यङ्ग्य प्रस्तुतिको परम्परा झनै सशक्त बन्दै गएको छ, जसले नेपाली समाजमा मनोरञ्जनसँगै चेतनाको सन्देश पनि फैलाइरहेको छ।