भक्तपुरको बोडेमा आज बिहान एकै ठाउँमा दुई किशोरी दिदीबहिनीको शव फेला परेको छ। जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार मृतकहरू सुर्खेतको पञ्चपुरी नगरपालिका–८ घर भएकी १७ वर्षीया मेनुका कँडेल र १५ वर्षीया सृजना कँडेल हुन्।
उनीहरू मध्यपुर ठिमी नगरपालिका–८, बोडे सिन्टीटारस्थित चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्दै आएका थिए। बिहीबार बिहान करिब पौने सात बजे स्थानीयले दुई तले ट्रष्टको घरको भुइँतलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले प्रारम्भिक अनुसन्धानमा दिदीबहिनीले सँगै आत्महत्या गरेको आशंका गरेको छ। तर, घटनाको यथार्थ कारण भने अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।
घटनास्थलमा जिल्ला प्रहरी कार्यालयका अधिकारीहरूको टोली पुगेको छ। शवलाई परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पठाउने तयारी भइरहेको जनाइएको छ।