जल तथा मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको सक्रियता कायम रहेको जनाउँदै बाढी, भूक्षय तथा डुबानको जोखिमबारे सतर्क रहन आग्रह गरेको छ।
महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा औसत स्थानको आसपासमै रहेकाले अहिले देशभर मनसुनको प्रभाव देखिएको छ।
बिहीबार दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भेगमा सामान्यदेखि आंशिक बदली हुने छ। ती क्षेत्रका पहाडी भाग र लुम्बिनीका तराई क्षेत्रमा एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
आज राति कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका साथै अन्य पहाडी भेगमा सामान्य बदली रहनेछ भने तराईमा आंशिक बदली रहने बताइएको छ। यी क्षेत्रमा पनि एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित वर्षाको सम्भावना छ।
महाशाखाले सम्भावित वर्षाका कारण भूक्षय, बाढी, गेग्रान बहाव र डुबानको जोखिम बढ्ने चेतावनी दिएको छ। सहरी तथा तराई भूभागमा डुबान हुनसक्ने, खोलानालाको सतह बढ्न सक्ने भएकाले सतर्क रहन अनुरोध गरिएको हो।
साथै, भारी वर्षाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, पर्यटन, निर्माण कार्य तथा सडक र हवाई यातायातमा प्रतिकूल असर पर्नसक्ने भन्दै पूर्वतयारी गर्न सर्वसाधारण र सम्बन्धित निकायलाई आग्रह गरिएको छ।