
नेपाली समाजमा साउन १५ विशेष दिनको रूपमा मनाइँदैछ। धार्मिक, सांस्कृतिक र सामाजिक रुपमा महत्व बोकेको यस दिन विशेषगरी खीर खाएर मनाउने परम्परा छ। वर्षा ऋतुको मध्य बिन्दुमा पर्ने यस दिन घर–घरमा दूध, चामल र मरमसलालगायत सामग्री मिसाएर स्वादिलो खीर पकाइन्छ।
धार्मिक दृष्टिकोणले पनि खीरलाई सात्विक आहार मानिने भएकाले यस दिनको महत्व अझ गहिरो छ। संस्कृत भाषामा ‘पायस’ भनिने खीर पितृ कार्य र देव पूजा दुबैमा उपयोगी मानिएको छ।
ऋषिमुनिका पालादेखि नै श्राद्ध लगायत पितृ कार्यमा खीर खुवाउने चलन रहिआएको छ। वैदिक सनातन धर्मअनुसार पितृलाई गाईको दूधबाट बनेको पायस चढाउनुपर्ने परम्परा अझै जीवित छ।
चामलको खीरसँगै सावधाना, सेवई, गाजर र मकैको खीर पनि प्रचलनमा छन्। साउनमा हरियो मकै प्रशस्त पाइने भएकाले मकैको खीर बनाउने चलन पछिल्ला वर्षहरूमा झनै बढेको छ। नेपाली बृहत् शब्दकोशमा खीरलाई “दूधमा पकाइएको भात वा चामल, चिनी, मसला आदि मिसाएर बनाइएको स्वादिलो खाद्यपदार्थ” भनेर परिभाषित गरिएको छ।
असार १५ मा दही च्यूरा, भदौ १५ मा पोलेको मकै, पुस १५ मा घिउ–खट्टे र माघ १५ मा मालपुवा बनाएर खाने परम्परा झैँ, साउन १५ लाई खीर खाने दिनको रूपमा मनाउने परम्परा नेपाली समाजमा जरा गाडेर बसेको छ।
यसै अवसरमा राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई ‘खीर दिवस’ का रूपमा मनाउने चलन थालेको छ, जसको उद्देश्य परम्परागत खानपान संस्कृतिलाई प्रवर्द्धन गर्नुका साथै दुग्धजन्य उत्पादनको उपभोग बढाउनु पनि हो।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.