राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने हाल रुपन्देहीको भैरहवा कारागारमा छन्। उनले आफूलाई काठमाडौँको कारागारमा सरुवा गर्न माग गरेका थिए र अदालतले पनि त्यस आदेश दिएको थियो। तर, गृहमन्त्री रमेश लेखकले राजनीतिक दबाबका कारण सरुवा रोक्नुभएको छ।
सरकारद्वारा अन्याय भएको आरोप लगाउँदै रवि लामिछानेले कारागारमै बस्दै आगामी योजना तयार गरेका छन्। विशेषगरी कात्तिक १७ गते हुने रुपन्देही-३ को उपनिर्वाचनमा पार्टीको जित सुनिश्चित गर्न उनले रणनीति बनाइरहेका छन्।
उपनिर्वाचनको माहोल बनाउन र सभापति लामिछानेसँग प्रत्यक्ष भेटघाटका लागि पार्टीका सबै सांसद रुपन्देही पुगेका छन्। पार्टी स्रोतका अनुसार रुपन्देहीमा संसदीय दलको बैठक बस्नेछ र सांसदहरूले दुईदेखि तीन दिनसम्म त्यहीँ बसेर चुनावी अभियानको अनौपचारिक थालनी गर्नेछन्।
रास्वपाले रुपन्देही-३ मा उम्मेदवार छनोट प्रक्रिया पनि सुरु गरिसकेको छ। यस क्षेत्रको राजनीतिक अवस्था बुझ्नका लागि २०७९ सालको संघीय समानुपातिक निर्वाचन नतिजामा रास्वपाले त्यहाँ १४ हजार १५४ मत ल्याउँदै तेस्रो स्थान हासिल गरेको थियो।
यदि उपनिर्वाचनमा रास्वपाले जीत हात पार्न सफल भयो भने, प्रमुख प्रतिद्वन्द्वी कांग्रेस र एमालेलाई ठूलो झटका लाग्नेछ। यो उपनिर्वाचन पार्टीको लागि ठूलो अवसर मानिएको छ।
यसैबीच, भैरहवाको कारागारमा रहेका सभापति लामिछानेलाई सांसदहरूले भेट्ने कार्यक्रम तय भएको छ, जसले पार्टीभित्र एकता र अभियानलाई थप बल दिने अपेक्षा गरिएको छ।