यमनका हुथी विद्रोहीले लाल सागरमा एक कार्गो जहाजमाथि आक्रमण गरेर डुबाइदिएपछि तीन जना चालक दल सदस्यको मृत्यु भएको छ भने अन्य १९ जना अझै बेपत्ता छन्। युरोपेली संघको नौसेना मिसन ‘अपरेसन एस्पाइड्स’ले दिएको जानकारीअनुसार, डुबेको जहाज ‘इटर्निटी सी’ मा जम्मा २५ जना चालक दल थिए।
बीबीसीले जनाएअनुसार, सोमबार एक सानो डुंगाबाट प्रहार गरिएको रकेट-प्रोपेल्ड ग्रेनेड (आरपीजी) ले जहाजमा गम्भीर क्षति पुर्याएको थियो। लाइबेरियाली झण्डा बोकेको यो जहाज इजरायलतर्फ गइरहेको बेला इरान-समर्थित हुथी विद्रोहीले आक्रमण गरेको दाबी गरेका छन्।
युएस मेरिटाइम ट्रेड अपरेसन्सका अनुसार, उद्धार गरिएका ६ जना चालक दलमध्ये तीनको ज्यान गएको पुष्टि भएको छ। बाँकी १९ जना भने अझै हराइरहेका छन्। उद्धार गरिएका मध्ये पाँच जना फिलिपिन्सका र एक जना भारतीय नागरिक रहेको युरोपेली नौसेना स्रोतले जानकारी दिएको छ।
अमेरिकाको यमनस्थित बन्द दूतावासले पनि हुथी विद्रोहीहरूले चालक दलका केही सदस्यहरूलाई अपहरण गरेको पुष्टि गर्दै उनीहरूको तत्काल रिहाइको माग गरेको छ।
एक हप्ताभित्र हुथी विद्रोहीको यो दोस्रो कार्गो जहाजमाथिको घातक आक्रमण हो। यसअघि ‘म्याजिक सिप’ नामक कार्गो जहाजलाई मिसाइल र ड्रोन आक्रमणमार्फत डुबाइएको थियो।