
स्वस्थ जीवनशैलीको अभ्यासका रूपमा दैनिक १० हजार पाइला हिँड्नुपर्ने भनाइ निकै प्रचलित छ। मेडिकल जर्नल The Lancet Public Health मा प्रकाशित एक अध्ययनले दिनहुँ ७ हजार पाइला मात्रै हिँड्दा पनि मुटु रोग, मधुमेह, क्यान्सर र डिप्रेसनजस्ता गम्भीर रोगहरूको जोखिम उल्लेखनीय रूपमा कम गर्न सकिने देखाएको छ।
अष्ट्रेलिया र बेलायतका अनुसन्धानकर्ताहरूको टोलीले तयार पारेको यस अध्ययनमा सन् २०१४ देखि २०२५ को प्रारम्भसम्म प्रकाशित ५७ वटा छुट्टाछुट्टै अनुसन्धानको मेटा–विश्लेषण गरिएको छ। ती अध्ययनमा विश्वभरिका १ लाख ६० हजारभन्दा बढी वयस्कको जीवनशैली र स्वास्थ्य अवस्थालाई समावेश गरिएको थियो।
अध्ययनका अनुसार, दैनिक ७ हजार पाइला हिँड्ने व्यक्तिहरूको मृत्युको जोखिम दिनको २ हजार पाइला मात्रै हिँड्नेहरूको तुलनामा ४७ प्रतिशतसम्म कम हुने देखिएको छ। यस्तै, कार्डियोभास्कुलर (मुटु–नसा) रोगको जोखिम २५ प्रतिशत, टाइप २ मधुमेहको जोखिम १४ प्रतिशत, डिमेन्सिया ३८ प्रतिशत र डिप्रेसनको जोखिम २२ प्रतिशतले कम हुने देखिएको छ।
त्यस्तै, क्यान्सरजस्ता घातक रोगबाट जोगिने सम्भावना ६ प्रतिशतले वृद्धि हुने र अचानक ढल्ने जोखिम पनि २८ प्रतिशतले घट्ने अध्ययनले देखाएको छ।
विज्ञहरूका अनुसार, दैनिक ७ हजारभन्दा बढी पाइला हिँड्न सके अझ बढी फाइदा पुग्छ। विशेषतः शारीरिक गतिविधि बढाउँदा हृदय स्वास्थ्यमा उल्लेखनीय सुधार आउने र हृदयघातको सम्भावना समेत घट्ने बताइएको छ।
अध्ययनकर्ताहरूले दैनिक कम्तीमा ७ हजार पाइला हिँड्न सकिने व्यवहारिक लक्ष्यले धेरै मानिसलाई स्वास्थ्यप्रति सजग बनाउन र सक्रिय जीवनशैली अपनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।
यदि कसैले नियमित रूपमा १० हजार पाइला हिँड्ने बानी बनाइसकेको छ भने त्यो अझ राम्रो अभ्यास हो, तर ७ हजार पाइला पनि स्वास्थ्य सुधारका लागि पर्याप्त हुने वैज्ञानिक निष्कर्षले देखाएको छ।
World Info Nepali is a comprehensive news portal delivering the latest updates in both Nepali and English. We are a part of Worldinfo.news Global, committed to providing accurate, timely, and balanced news from Nepal and around the world.