हाल देशभर मनसुनी वायुको प्रभाव सामान्यभन्दा कमजोर रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेकाले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ।
आज (शुक्रबार) दिउँसो देशभर साधारणतया बदली रहने जनाइएको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागसहित अन्य केही स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना छ। बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा भने एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने चेतावनी महाशाखाले दिएको छ।
आज राति कोशी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी प्रदेशको केही भाग र अन्य प्रदेशका थोरै स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, कोशी प्रदेशको तराई भू–भाग र मधेस प्रदेशका केही स्थानमा हावाहुरीसमेत चल्ने पूर्वानुमान गरिएको छ।